काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टी जनाएका छन् ।
बिहीबार नापी विभाग मिनभवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले लामो समय अगाडिदेखी निर्माण कार्य सुरु भएको माथिल्लो तामाकोशीको निर्माण कार्यप्रति असन्तुष्टी जनाएका हुन् ।
‘मैले १ वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । १ वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि पनि त्यही सुनेँ, ३ महिना अगाडि, १ महिना अगाडि पनि त्यही सुनेँ । केही दिन अगाडि पनि त्यही सुनेँ, अघिल्लो दिन पनि त्यही सुनेँ’, उनले भने, ‘यो ढिलाइले दैनिक प्रत्यक्ष पाँच करोड र परोक्ष १३ करोडको नोक्सानी भइरहेको छ । यो ढिलासुस्ती अस्वभाविक र असाधारण हो ।’
आफूहरुले कडाइ नगरेको भए मेलम्चीको पानी नआउने बताउँदै प्रधानमन्त्री अोलीले ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन् ।
‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं’, ओलीले भने, ‘माथिल्लो तामाकोशीको काममा पनि यसरी नै ढिलासुस्ती भइराखेको छ । ढिलासुस्ती र बिलम्बप्रति अनदेखी गरेर बस्न सकिँदैन । बिलम्ब स्वीकार्य हुनैसक्दैन ।’




प्रतिक्रिया