काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज संसदमा विश्वासको मत लिँदैछन् । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले आफ्ना १९ जना सांसद मुख्यमन्त्रीको विपक्षमा रहेको काठमाण्डुपाटीलाई बताए ।
‘हामी १९ जना सांसद एक कित्तामा छौं । उहाँको तयारी आफ्नो ठाउँमा छ’, उनले भने ।
यता नेपाली कांग्रेसले भने केन्द्रको निर्देशन कुरिरहेको बताएको छ । दिउँसो बस्ने संसद बैठक अगाडि आउने केन्द्रको निर्देशन कुरिरहेको कांग्रेसका सचेतक हिमबहादुर शाहीले जानकारी दिए ।
सभापति शेरबहादुुर देउवाले कांग्रेसलाई मुख्यमन्त्री शाहीको पक्षमा मत हाल्न निर्देशन दिने तयारी गरेको स्रोतले जानकारी दियो । मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिने विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक बसिरहेको छ ।
माओवादी केन्द्रकी प्रमुख सचेतक सीता कुमारी नेपालीले विश्वासको मत लिने विषयमा बैठक जारी रहेको काठमाण्डुपाटीलाई बताइन् । कर्णालीमा एमालेबाट १९, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।
कर्णालीमा राप्रपाको एक भोट निर्णायक हुने देखिएको छ । राप्रपाले पनि केन्द्रका निर्देशन कुरिरहेको बताएको छ । राप्रपा नेता धनबहादुर बुढाले अन्तिम समयमा पार्टीको निर्देशन आउने भएकाले अहिले नै निर्णय नभएको जानकारी दिए ।




प्रतिक्रिया