काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वकर्ताबाटै राष्ट्रहितविपरितका कार्यहरु भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार वागमती प्रदेशस्तरीय कराँते प्रतियोगिता उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने व्यक्तिबाटै भइरहेका राष्ट्रहितविपरीतका गतिविधिहरू नेपाली जनताको इज्जत प्रतिष्ठा तथा राष्ट्रिय स्वाधिनतामा प्रश्न उठेको बताएका छन् । उनले सरकारका प्रमुख रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै देशलार्य बन्धकी राखेको आरोप लगाएका छन् ।
‘देशमा तानाशाही र निरंकुश शक्ति पूरै परास्त भएका छैनन् । उनीहरूको नेपाल र नेपालीविरुद्ध षडयन्त्र चलि नै रहेको छ । हिजोआज समाचार हेर्नुभयो भने देशलाई बन्धकी राख्ने, राष्ट्रहितविपरीत गतिविधि गर्ने काममा स्वयम् सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरू लागेका खबर आएका छन्’, उनले भने, ‘यसले नेपाली जनताको इज्जत, प्रतिष्ठा र आत्मसम्मान तथा राष्ट्रिय स्वाधिनतामाथि प्रश्नचिन्ह खडा गर्ने दुस्साहस भएको छ । तर, सचेत नेपाली जनतालाई ती षड्यन्त्रण स्वीकार्य छैन् । ’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई अदालतले पुनःसथापना गरेपनि तानाशाही शक्तिहरु अझै परास्त भइनसकेको आरोप लगाएका छन् ।
‘संविधानमा हुँदै नभएको कुरालाई प्रयोग गरेर संसद विघटन गरियो । तर, जनताको विरोधपछि सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो । निरंकुश र तानाशाही शक्तिहरु परास्त भए । तर, तिनिहरु अझै पुरै परास्त भएका छैनन् । उनीहरुको षड्यन्त्र नेपाल नेपाली जनताकाविरुद्ध चलिरहेको छ’, उनले भने ।




प्रतिक्रिया