काठमाण्डु – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।
मुख्यमन्त्री शाहीले कांग्रेसलाई सरकारमा सहभागी गराउनका लागि छलफल जारी राखेको माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।
‘कांग्रेसलाई सरकारमा ल्याउने विषयमा हामी तयार छौं । उहाँहरु आन्तरिक छलफलमा हुनुहुन्छ’, काठमाण्डुपाटीसँग कुरा गर्दै प्रवक्ता नेपालीले भनिन्
नेपाली कांग्रेसले भने केन्द्रको निर्देशन कुरिरहेको बताएको छ । कांग्रेसका सचेतक हिमबहादुर शाहीले आफूहरु अहिले केन्द्रको निर्देशनको पखाईमा रहेको बताए ।
कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । अल्पमतमा परेका शाहीलाई नेकपा एमाले माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर विश्वासकाे मत दिएपछि बहुमत प्राप्त गरेका थिए । मुख्यमन्त्री शाहीले नेपाल पक्षका तीन जना सांसदलाई मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।
उनले ‘फ्लोर क्रस’ गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका हुन् ।
जसमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाही नियुक्त भएका छन् ।
३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको सरकार जोगाएका थिए ।
कांग्रेसलाई भन्दा माधव नेपाल पक्षलाई फाइदा
कर्णाली प्रदेश सरकारमा कांग्रेसलाई भन्दा माधव नेपाल पक्षलाई बढी फाइदा भएको छ ।
मुख्यमन्त्री शाहीले सरकार जोगाउन पार्टी नेतृत्वको निर्देशन उल्लंघन गरेका नेपाल पक्षका तीन जना सांसदलाई मन्त्री बताएपछि नेपाल पक्षलाई बढी फाइदा पुगेको हो ।
उनलाई नेपाल पक्षका चार जना सांसदले विश्वासको मत दिएका थिए । सरकार जोगाउन निर्णायक बनेको नेपाल पक्षलाई उच्च प्राथमिकता दिएका हुन् ।
सरकारमा संख्याको हिसाबले कांग्रेसभन्दा नेपाल पक्षले बढी मन्त्री पाएको छ । नेपाल पक्षले तीन जना मन्त्री पाएको छ भने कांग्रेसले एक सिट पाउने भएको छ ।
प्रवक्ता सीता नेपालीले कांग्रेसलाई एक सिट दिएर सरकारमा ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।




प्रतिक्रिया