काठमाण्डु – चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप हालसम्म १ लाख ११ हजार व्यक्तिले लगाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गतेदेखि संचालन गरेको खोप अभियानमा हालसम्म १ लाख ११ हजारले खोप लगाएका हुन् ।
प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका अनुसार चैत २५ गतेदेखि २९ गतेसम्म चीनमा व्यापार गर्ने व्यापारी तथा आवतजावत गर्ने व्यक्तिहरु, चीनमा अध्ययनरत विद्यार्थीहरुलाई खोप दिइएको थियो ।
यस्तै पहिलो चरणको अभियानपछि चैत ३१ गतेदेखि काठमाण्डु उपत्यका सहित ७ जिल्लाका ४० देखि ५९ वर्ष सम्मका सबै नागरिकहरुलाई खोप लगाउन थालिएको थियो । चीन सरकारले नेपाललाई अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको थियो । सो खोप पहिलो डोजमा ४ लाख व्यक्तिलाई लगाउने सरकारको लक्ष्य छ ।
स्वास्थ्य मन्त्रालयले वैशाख ५ गतेसम्म ७ जिल्लामा खोप अभियान चलाएको थियो । खोप लगाउनेको संख्या न्यून देखिएपछि मन्त्रालयले आज पनि निजामति अस्पताल, प्रसूती तथा स्त्री रोग अस्पताल र शसस्त्र प्रहरी अस्पतालमा खोप कार्यक्रम यथावत राखेको छ ।




प्रतिक्रिया