काठमाण्डु – सरकारले आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ ।
यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने स्वाथ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार कोरोना संक्रमणको जोखिम रहेकाले बालबालिकाको पाखुराको मध्य भागको परिधिको नाप भने यसपटक लिइने छैन ।
कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्ड परिपालन गर्दै कार्यक्रम सञ्चालन गर्न विभागले सबै प्रदेशलाई पत्रचार गरिसकेको छ ।
भिटामिन ‘ए’ खुवाउने केन्द्रमा प्रति घण्टा १० जनामात्र बालबालिका उपस्थित हुने गरी व्यवस्था मिलाउने र हरेक व्यक्तिको बीचमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न सबै स्थानीय तहलाई विभागले निर्देशन दिएको छ ।
यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरु र केन्द्रमा बालबालिकाहरु लिएर आउने अभिभावकले अनिवार्य मास्क लगाउनुपर्ने, भिटामिन ए वितरण केन्द्रमा साबुन पानीले हात धुने व्यवस्था मिलाउन विगागले भनेको छ ।





प्रतिक्रिया