काठमाण्डु – प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । देशका विभिन्न अस्पतालमा कार्यरत उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूराे सिआइबीको टोलीले पक्राउ गरेको हो ।
२ जनालाई बिराटनगरबाट र बाँकीलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको बताईएको छ । पक्राउ पर्नेमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षका मोहम्मद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षका अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका– २ आर्दश वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ रहेका छन् ।
यस्तै, महोत्तरी सरपल्लो– ६ घर भई हाल जनकपुर उपमहानगरपालिका– ७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका– ५ घर भई हाल ललितपुर महानगरापालिका– २ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस – ५का दिपेन्द्र गौतम पक्राउ परेका छन् ।
पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहम्मद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी मिसन अस्पताल रुकुम पूर्वमा कार्यरत रहेको सिआबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।
पक्राउ परेका अरु कहाँ कार्यरत थिए भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । मेडिकल काउन्सिलको परीक्षामा सहभागी हुन नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैले एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएका छन् । एसएलसीमा विज्ञान विषयमा ४० नम्बर ल्याएका केहीले उक्त नम्बरलाई किर्ते गरेर ८० बनाएको समेत फेला परेको सिआइबीले जनाएको छ ।




प्रतिक्रिया