काठमाण्डु – माधव नेपाल र झलनाथ खनाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न बुढानिलकण्ठ पुगेका छन् । पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्न थालेपछि नेपाल र खनाल देउवा भेट्न गएका हुन् ।
भेटमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउन नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेको स्रोतले जानकारी दिए । उनीहरुले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न आग्रह गर्दै त्यसमा आफूहरुको सहयोग रहने बताएका थिए ।
पछिल्लो समय नेपाल–खनाल समूह माअोवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीसँग मिलेर जाने रणनीतिमा छ । आफूविरुद्ध मोर्चाबन्दी कस्ने सुइँको पाएका प्रधानमन्त्री अोलीले कारबाही प्रक्रिया अगाडि बढाएका छन् । उनले सुध्रिएर आउन चेतावनी दिँदै ४८ घण्टे स्पष्टिकरण सोधेका छन् ।
सभापति देउवाले संसदमा संख्या नपुग्ने भन्दै अोलीलाई हटाउन नसकिने बताउँदै आएका छन् । उनले जसपा पनि सरकारमा मिल्न लागिरहेको भन्दै कांग्रेस र माओवादी केन्द्रको संख्याले नयाँ सरकार गठन गर्न असम्भव रहेको बताएका हुन् ।




प्रतिक्रिया