काठमाण्डु – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणदर तिव्र रुपमा फैलिएसँगै नेपालमा पनि संक्रमण तिव्र रुपमा फैलिन सुरु भएको छ । खुला नाका र सरकारको व्यवस्थापन फितलो हुँदा नेपालमा संक्रमणदर तिव्र रुपमा फैलिएकाे चिकित्सकहरूले बताएका छन् ।
संक्रमण बढेसँगै अस्पतालमा स्वास्थ्य उपकरणकोसमेत अभाव हुन थालेको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा संक्रमण दर उच्च भएपछि अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचनामा २५२ जना निको हुँदा २३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संक्रमणदर अघिल्लोदिनको तुलनामा बढी हो । बुधबार २३५२ जनामा संक्रमण पुष्टि भएको थियो । मन्त्रालयकाे तथ्यांकअनुसार संक्रमणदर दिनानुदिन बढिरहेको छ ।
बाँके जिल्लामा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव हुन थालेको बताइएकाे छ ।
अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको हाे । भेरी अस्पतालमा अहिले एउटा शय्या पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए ।
उनका अनुसार अस्पतालले कोरोना सङ्क्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १४२ शय्या भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको उनले बताएका छन् ।
कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा आसिम किदवाइले अस्पतालमा शय्या अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताए ।
उनले अहिले पनि शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शय्या पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा अहिले स्थिति नियन्त्रण बाहिर गएको दुखेसो पोखे । कोरोना सङ्क्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले संक्रमित बिरामी आउने क्रम जारी रहेको र चिकित्सकहरु मूकदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
‘संक्रमित बिरामी आउने क्रम जारी छ, हामी मूकदर्शक भएर बस्नेबाहेक केही गर्न सक्ने अवस्था छैन,’ मेसु थापाले भनेका छन्, ‘हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरूरी छ ।’
मन्त्रालय भन्छः अक्सिजन पर्याप्त छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भयावह बन्ने भन्दै सचेत रहन आग्रह गरेको छ । तर, मन्त्रालयले अस्पतालहरुमा अक्सिजन र अक्सिजन सिलिण्डरहर पर्याप्त रहेको बताएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले स्थिति अलिक जटिल हुने र केाराेनाकाे उपचार भनेकाे रोकथाम बाहेक अरु विकल्प नरहेको बताए ।
‘हामीसँग क्यापासिटी छ । हाम्रा धेरै अस्पतालहरुमा अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरहरु जडान भएका छन् । मार्केटबाट सिलिण्डरहरु खरिद गरेका छौं । तत्काल समस्या आउँदैन’, उनले भने, ‘आकस्मिक चुहावट र माग बढ्दै गयो भने गाह्रो हुनसक्छ । संक्रमण बढ्दै जान्छ । स्थिति अलिक जटिल छ । रोकथाम बाहेक अरु विकल्प छैन् । हामीले अरु केही गर्न सक्दैनौं ।’
रोजगारीका लागि भारत गएका नेपालीहरु स्वदेश फर्किन थालेपछि सीमानाकामा भीड बढेको छ । सीमामा पर्याप्त परीक्षणको व्यवस्था नहुने र खुला सीमाका कारण कतिपय मानिसहरु लुकिछिपी नेपाल छिर्दा कोरोना संक्रमण बढ्ने मन्त्रालयको भनाई छ ।
अक्सिजन पर्याप्त छः संघ
रसायन तथा मेडिकल आपूर्ति संघले तत्काललाई नेपालमा अक्सिजन पर्याप्त रहेको बताएको छ । संघका अध्यक्ष सुरेश घिमिरेले बीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा अक्सिजन मेसिन बिग्रिएको तर, अन्य ठाउँमा समस्या नरहेको बताए ।
साथै नेपालबाट भारतमा अक्सिजन निर्यात भएको सूचना पाएपछि त्यसलाई रोक्न संघले निर्देशन दिएको छ । भारतमा कोरोना संक्रमणबढिरहेको र अक्सिजन अभाव भएकाले नेपालबाट अक्सिजन निर्यात भइरहेको सूचना आएपछि रोक्न निर्देशन दिएको उनले बताए ।
‘अक्सिजन भारत निर्यात भएको सूचना पाएपछि हामीले सम्बन्धित साथीहरुलाई रोक्न निर्देशन दिएका छौं’, उनले भने ।
संघले मंगलबार आफ्ना साधारण सदस्य र आजीवन सदस्यलाई छिट्टै अक्सिजन अभाव हुन सक्ने भन्दै अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, नेबुलाइजर, हाई फ्लो अक्सिजन क्यानुला र अक्सिजनसँग सम्बन्धित सामग्री निर्यात नगर्न सूचना जारी गरिसकेको छ ।
भारतमा अक्सिजन नपाएर बिरामीको मृत्यु
भारतमा कोरोना संक्रमणदर तिव्र रुपमा फैलिँदै गएपछि अस्पतालहरुमा बेड लर अक्सिनको अभाव हुन थालेको छ ।
शुक्रबार भारतमा ३ लाख ३२ हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा २२ सय ६३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दिल्ली, मुम्बई जस्ता ठूला र साना शहरहरूमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु भइरहेको बताइएको छ ।
दिल्लीको सर गंगाराम अस्पतालमा अक्सिजनको अभावका कारण पछिल्लो २४ घण्टाभित्र २५ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।




प्रतिक्रिया