हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौँ : डा अनुप बास्तोला

हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौँ : डा अनुप बास्तोला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तिव्र रुपमा फैलिएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले शुक्रबार दिएको तथ्यांक अनुसार हाल देशभर १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये २ सय ३० जना आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

शुक्रबार देशभर दुई हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ । मंसिर सुरुदेखि चैत तेस्रो सातासम्म फाटफुट रूपमा मात्र कोरोना भाइरस संक्रमित भेटिने गरेको भएपनि केही दिनयता तीव्र रूपमा बढिरहेको छ । कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ ।

तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् । अस्पतालहरु बिरामीले भरिएका छन्। बिरामीले उपचार नपाउने अवस्था आएको भन्दै उपचारमा खटिएका चिकित्सकहरुले अक्सिजन सहितको आइसोलेसन बेड व्यवस्था गर्न समेत आग्रह गरेका छन्। कोरोना संक्रमितको सुरुवातदेखि उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ तथा कोभिड संयोजक डा अनुप बास्तोलाले अहिले निकै जटिल भएको भएको बताउँदै सचेत रहन आग्रह गरेका छन्।

डा. बास्तोला फेसबुक मार्फत यसो भन्छन्
यो समय पक्कै बितेर जानेछ तर ख्याल गरौं है। अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं। यो जोखिम सहजै टर्ने स्थिति छैन। जबसम्म तपाईंहामी सचेत र चनाखो हुँदैनौं ।

मोबाइलको घण्टी जति बज्छ। उति तनाव थपिन्छ। अधिकांश फोन, आइसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्। तर, टेकू अस्पताल भरिसक्यो। थप बिरामी राख्ने सम्भावना न्यून छ। अब, वार्डबाट आइसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ । हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने, के होला अवस्था?

जताजतै खुला छ। र कोरोना भाइरसको संक्रमण दिन दुइगुणा, रात चौगुनाको दरले बढ्दो छ। यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ। अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्। वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए।

हामीले कहिल्यै चेतेनौं, महामारीलाई साह्रै हलुका रुपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो। यो बीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं। कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा, हामी फुक्काफाल भयौं। हामी सुस्तायौं। तर कोरोना भाइरस अझ संक्रामक भएर आयो।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ। स्वास्थ्य सेवा डामाडोल हुन सक्छ। अस्पतालमा बेड नपाउने समस्या त छँदैछ। कुन उपचारले बिरामी निको हुनेछन्। भन्ने अन्यौल पनि उस्तै छ। कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ। एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ। पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन्।

तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ। ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं। अहिले आइसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ। त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनु भएको होला भन्ने अनुमान गर्न सकिन्छ।

कृपया, अब अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं। सुरक्षाका सबै मापदण्ड अपनाऔं। अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन। सकेसम्म सुरक्षित रहने कोसिस गरौं। यो डरलाग्दो समय बितेपछि खोजी गरौंला हामी कहाँ-कहाँ चुक्यौं ।