काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव संसदमा टेबुल हुँदैछ । केहीसमयपछि बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुन लागेको हो ।
गुरुङविरुद्ध वैशाख २ गते अविश्वास प्रस्तावको दर्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले अविश्वासको प्रस्तावमाथि हस्ताक्षर गरेका छन् ।
गण्डकीमा सरकार ढाल्नका लागि ३१ मतको आवश्यकता पर्दछ । ६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेसँग २७ सिट रहेको छ भने राष्ट्रिय जनमोर्चासँग ३ सिट रहेको छ ।
जनमोर्चाको अन्तिम भोट निर्णायक बन्ने देखिएको छ । जनमोर्चाले गुरुङ नेतृत्वको सरकारलाई साथ नदिने बताइसकेको छ । नेपाली कांग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले अहिलेसम्म जसपा र राष्ट्रिय जनमोर्चाले साथ नछोड्ने बताए ।
काठमाण्डुपाटीसँग कुरा गर्दै सांसद लामिछानेले आज र भोली बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुने बताए ।
मुख्यमन्त्री गुरुङले दुई साना दलहरुसँग छलफल अघि बढाएका छन् । उनले जसपा र जनमोर्चालाई फकाउने तयारी गरेका छन् । गण्डकीमा जसपाको दुई सिट रहेको छ ।




प्रतिक्रिया