काठमाण्डु – पछिल्लो समय कोरोना महामारीको विषम परिस्थितीलाई मध्यनजर गर्दै सरकारले सिमा क्षेत्रमा कडाई गरेको छ । नेपाल भित्रिने नेपालीलाई सरकारले सीमामा अनिवार्य पिसीआर परीक्षणको व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरमा राख्ने भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।
उनले पिसीआर रिपोर्ट नेगेटिभ लिएर आएका विदेशी नागरिकले भने अनिवार्य रूपमा १० दिन क्वारेन्टिन बस्नुपर्ने बताए । ‘विदेशीका हकमा पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाए पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्छ । नेपालीको हकमा हामी नै परीक्षण गर्छौं,’ उनले भने । सोमबार मात्रै नेपालमा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित भेटिएका थिए । देशभर १३ हजार २९३ नमुना परीक्षण गरिएकोमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
हाल मुलुकका ३५ सीमा नाका खुला छन् । ती मध्ये भारततर्फका मात्रै ३३ नाकाबाट आवतजावत हुँदै आएको छ । यतिसम्मकी दैनिक रूपमा के कति संख्यामा ति नाकाहरुबाट मानिसहरु आवतजावत गरिरहेका छन् भन्ने सरकारसँग यकिन तथ्यांक छैन । मूल सीमा नाकामा सावधानी अपनाउँदै खुला आवागमनलाई व्यवस्थित बनाइए पनि रूपन्देहीका साना नाका र दशगजाबाट निर्बाध ओहोरदोहोर रोकिएको छैन । बेलहिया–सुनौली मूल नाकामा स्वास्थ्य जाँचसहित सावधानी अपनाइए पनि अन्य क्षेत्रमा सीमा खुला छ ।
रूपन्देहीमा रहेको ५९.७ किमि खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको ६ वटामात्र बोर्डर आउट पोस्ट (बीओपी) छन् । धकधही, गोनाहा, मर्चवार, लुम्बिनी, कालीदह क्षेत्रमा स्थानीयको आवागमन वर्षौंदेखि खुला सिमानाबाटै हुँदै आएको छ । सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेड क्वार्टरका एसपी राजेश उप्रेतीले बीओपीबाट प्रहरीको नजर पुग्नेसम्मको सिमानाबाट हुने आवागमन यतिबेला रोकिएको बताए ।
प्रमुख जिल्ला अधिकारी आशमान तामाङले मूल नाकाबाहेकको खुला सिमानाबाट हुने आवागमनलाई नियन्त्रण गरी सिमानालाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिले सोमबार रूपन्देहीको खुला सीमा नाकाको स्थलगत निरीक्षण र अध्ययन गरेको जानकारी दिए ।
नेपालगन्जस्थित मूल नाका जमुनाहबाट अहिले अति आवश्यक औषधि उपचारबाहेक भारत जान रोक लगाइएको छ ।
पश्चिमी दुई नाकाबाट मात्रै भित्रिए १३ सय संक्रमित
भारतसँगका प्रमुख दुई नाका त्रिनगर र गड्डाचौकीमा गरिएको परीक्षणमा एक हजार तीन सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, गत १६ चैतदेखि १३ वैशाखसम्म गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्रिनगर नाकामा १३ हजार एक सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ११९ जनामा संक्रमण देखिएको छ । त्यस्तै, गड्डाचौकी नाकामा चार हजार २०० जनाको एन्टिजेन परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।
देशका अन्य नाकाभन्दा सुदूरपश्चिमका दुई नाकामा भित्रिएकाहरूमा संक्रमण बढी देखिएको हो । यो एक महीनाको अवधिमा देशका प्रमुख १० नाकामा १९ हजार ४५० जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ५८५ जनामा कोरोना देखिएको थियो । जसमध्ये एक हजार ३८९ जना सुदूरपश्चिमकै दुई नाकामा भेटिएका हुन् ।
सोमबार देशका १० नाकामा गरिएको परीक्षणमा ११४ जनामा कोरोना भेटिएको छ । जसमध्ये सुदूरपश्चिमका दुई नाकामा मात्रै १०३ जना रहेका छन् । अन्य आठ नाकामा ११ जनामा मात्रै संक्रमण देखिएको छ ।
उपत्यकामा १५ दिन निषेधाज्ञा
त्यस्तै सरकारले उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गरेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार, पहाडी जिल्लामा दुई सय भन्दा बढी र शहरी जिल्लामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सकिने निर्णय समेत गरेको छ । सो निर्णयअनुसार स्थानिय प्रशासनले बाँके, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लाहरुमा निषेधाज्ञा लागू गरिसकेको छ ।




प्रतिक्रिया