काठमाण्डु – निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा डिल्ली रत्न श्रेष्ठलाई नियुक्त गरेको छ । आयोगले मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश श्रेष्ठलाई जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
श्रेष्ठलाई वैशाख १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरिएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा उनलाई नियुक्ति गरिएको पनि आयोगले जनाएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा ‘बादल’ एमाले प्रवेश गरेपछि उनको पद गुमेको थियो । राष्ट्रिय सभाको रिक्त स्थानमा जेठ ६ गते निर्वाचन हुन लागेको हो ।




प्रतिक्रिया