गण्डकीमा फ्लोर क्रसको डरले २६ जना सांसदलाई होटलमा राखेर ‘काउन्सिलिङ’

गण्डकीमा फ्लोर क्रसको डरले २६ जना सांसदलाई होटलमा राखेर ‘काउन्सिलिङ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशमा सरकार ढाल्न विपक्षी दलहरुले आफ्ना सांसदलाई होटलमा राखेर काउन्सिलिङ दिँदै आएका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २६ जना सांसदलाई पोखराको कुटी रिसोर्टमा राखिएको हो ।

कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस हुने सम्भावना भएकाले कांग्रेस र माओवादी केन्द्रले २६ जना सांसदलाई पोखराको महंगो होटलमा राखेर आवश्यक निर्देशन दिएका हुन् ।

 रिसोर्टको वेबसाइटमा एउटा कोठाको ७ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्ने उल्लेख गरिएको छ । स्रोतकाअनुसार केही सांसदले फ्लोर क्रस गर्ने सम्भावना रहेकाले सामूहिक रुपमा होटलमा राखिएको हो ।

‘कर्णालीमा जस्तो फ्लोर क्रस गर्ने सम्भावना रहेकाले पहिले नै हामी सतर्क भएका हौं’, एक सांसदले भने, ‘दुवै पार्टी लामो समय छुट्टै रहेका कारण सांसदहरुबीच हार्दिकता कायम गराउन होटलमा राखिएको हो ।’

यसअघि कर्णालीमा नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए । अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदको हस्ताक्षर छ ।

राष्ट्रिय जनमोर्चाका ३ जना सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद छन् ।