उपत्यकासहित देशभर कहाँ–कहाँ छ निषेधाज्ञा ?

उपत्यकासहित देशभर कहाँ–कहाँ छ निषेधाज्ञा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतसहित विश्वभर फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि तीव्र रुपमा फैलिन थालेको हो ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेको छ भने कोरोनाको चेन ब्रेक गर्न भन्दै सरकारले उपत्यकामा तेस्रो पटक निषेधाज्ञाको घोषणा गरेको छ । सरकारले काठमाण्डु उपत्यकाका तीन वटा जिल्लामा जारी गरेको निषेधाज्ञा बिहीबारदेखि सुरु हुँदैछ ।

तीनवटै जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि निषेधाज्ञा लगाउने निर्णय गरे पनि पछि मन्त्रिपरिषद बैठकले सो निर्णयलाई परिमार्जत गर्दै १५ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । यो निर्णयसँगै काठमाण्डुका तीनवटै जिल्लामा बिहीबार बिहान ६ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्नेछ ।

उपत्यकामा मात्रै होइन कोरोना संक्रमण बढी भएका अन्य जिल्लामा पनि निषेधाज्ञा लगाइएको छ । स्थानिय प्रशासनले कास्की, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा र सुर्खेतमा पूर्ण निषेधाज्ञा लगाएका छन् । बर्दिया, बाग्लुङ र कालिकोटमा भने आंशिक निषेधाज्ञा लगाइएको छ ।

बाँकेमा १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा लगाएको छ भने कास्कीमा १५ गते आजदेखि २१ गतेसम्म लगाइएको छ । दाङमा १७ गतेदेखि २५ गतेसम्म, कैलाली र पर्सामा १६ गतेदेखि २२ गतेसम्म, रुपन्देहीमा १६ गतेदेखि २९ गतेसम्म, सुर्खेतमा १५ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

बर्दियाको गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा १३ गतेदेखि २० गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै बाग्लुङ नगरपालिकाको वडा नं. ३ मा ७ गतेदेख १७ गतेसम्म र कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नं. ११ मा १०गतेदेखि १७ गतेसम्म निषेधाज्ञा लगाइएको छ । केन्द्रिय सरकारले पहाडमा २ सय जना र शहरी क्षेत्रमा ५ सय जना सक्रिय संक्रमित भए प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ । यसैअनुसार जिल्ला तहमा निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञामा के खुल्छन् ?

सरकारले निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, औषधि पसल, अत्यावश्यक सवारी साधनबाहेक अरु सेवा र व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यस्ता कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर ओहोरदोहोर गर्न पाउनेछन् । यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने गाडी पनि चल्न पाउनेछन् ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

विवाह, ब्रतबन्धलगायतमा १५ जना सहभागी हुन पाउने र ब्यानरसहित २ वटा गाडी प्रयोग गर्न पाउने तथा त्यसका लागि पासको आवश्यक नपर्ने जिल्ला प्रशासन कार्यालय काठमाण्डुले जनाएको छ ।

देशभर एकैदिनमा ४५२४ जना संक्रमित

नेपालमा मंगलबार मात्रै ४ हजार ५ सय २४ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

यस्तै सोही अवधीमा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ भने निको हुनेको कुल संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ ।

उपत्यकामा मात्रै १९०६ जना संक्रमण पुष्टि

काठमाण्डु उपत्यकामा मात्रै मंगलबार १ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डुमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका हुन् ।