काठमाण्डु – नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नै नगरेको स्पष्ट पारेका छन् ।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि ओली नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको बताएका छन् ।
‘सर्वोच्च अदालतको फैसला भयो र सरकारलाई संविधानको धारा ७६ (२) को बनायो । त्यसपछि माओवादी केन्द्रले सरकारलाई समर्थन गरेकै छैन् । तथ्य यही हो । उहाँ अल्पमतमा हुनुहुन्छ’, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले समर्थन नगरेकाले मानिसहरुले कुरै नबुझी टिप्पणी गर्ने गरेको बताएका छन् । उनले आफूहरुले सरकारलाई समर्थन छैन् भनेर पत्र लेख्ने भएकाले फिर्ता लिने विषय नै गलत भएको बताए ।
‘मान्छेहरु कुरै नबुझी किन समर्थन फिर्ता लिन्न भन्नेलाई देख्दा म हैरान हुन्छु । यो सरकारलाई समर्थन नै गरेको छैन् के को फिर्ता ? हामीले समर्थन गरेको न कागज छ न कुनै प्रमाण छ । हाम्रा कमरेडले केपीलाई समर्थन गरेको छैन् विश्वासको मत लिनुपर्छ भनिसक्नुभएको छ । अब हामीले समर्थन छैन् भनेर लेखेर दिने हो फिर्ता लिने होइन् । कागज चाहिएको भए हामी दिन्छौं’, प्रचण्डले भने ।
प्रधानमन्त्री ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन पटक–पटक माओवादी केन्द्रलाई आग्रह गर्दै आएका थिए । उनले विभिन्न सार्वजनिक कार्यक्रममार्फत समर्थन फिर्ता लिन चुनौती दिँदै आएका थिए ।
उनले जनता समाजवादी पार्टीले निर्णय नदिएकाले तत्काल नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन् ।
‘यसो छाँट हेर्दा त होला जस्तो छैन पो देखिंदै छ त । जसपाले निर्णय गर्दैन, जसपाले निर्णय नगरी कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन,’ प्रचण्डले भने ।
उनले सरकारमा जान कांग्रेस सभापति शेरबहादुर देउवासँग अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) निःशर्त पास गर्ने सहमति नभएको बताएका छन् ।
एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई स्पष्ट गर्ने, केही परिमार्जन गर्ने र जरुरी पर्दा चिठी आदान–प्रदान मार्फत संशोधन गर्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।
प्रचण्डले भने, ‘एमसीसीलाई हामीले पूर्णरुपमा अस्वीकार कहिले पनि गरेका छैनौं । तर निःशर्त पास गर्ने भन्नेमा म छैन, त्यस्तो सहमति र सम्झौता पनि भएको छैन ।’




प्रतिक्रिया