बझाङ – भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सीधै घर पठाउँदा कोरोनाको जोखिम बढेको छ । स्थानीय तहले कोरोनाको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोरोनाको त्रास फैलिएको छ ।
अहिले जिल्लामा १३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यानसमेत गएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालेको छ । जिल्ला बाहिरबाट घर फर्कनेको लर्को लाग्न थालेको छ । यसरी जिल्ला भित्रनेलाई क्वारेन्टिनमा नराखी सीधै घर पठाउँदा संक्रमण फैलिने त्रास भएको तलकोट गाउँपालिकाका गणेश धरालाले बताए ।
सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसंँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरु घर फर्कन थालेका छन् । हुलका हुल मानिस गाउँ पसेका छन् । गाउँमा न त क्वारेन्टिन छन्, न त सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय तहहरू कोरोनाको संक्रमण नियन्त्रणका लागि संवेदनशील नहुँदा संक्रमण भयावह हुन थालेको धरालाले आरोप लगाए ।
जिल्ला स्वास्थ्य कार्यालयले एक महिनाअघि कोरोनाको जोखिम कम गर्न स्थानीय तहलाई स्वास्थ्य शाखा संयोजक प्रमुख रहने गरी टोली परिचालन गर्न पत्राचार गरेको थियो । जोखिम कम गर्न घटना अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी टोली परिचालन गर्न पत्राचार गरिएको भए पनि स्थानीय तहले बेवास्ता गरेका छन् ।
कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानीय तह सक्रिय नहुँदा संक्रमण झन् बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्केकाहरूमा कडा खालको संक्रमण देखिएको र हालसम्म परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
जोशीले भने, “भारतबाट फर्केका दुई जनाको त संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिले गम्भीर अवस्थाका २५ जनालाई कोभिड वार्डमा राखेर उपचार गराइरहेका छौँ । यसरी संक्रमण दर बढ्दै जाने हो भने बेड पनि थप्नुपर्ने अवस्था आउँछ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण झन् बढ्दै गएको हो । संक्रमितलाई आइसोलेशनमा राख्ने र जिल्ला भित्रनेलाई कडाइका साथ क्वारेन्टिनमा राख्ने व्यवस्था नभए संक्रमणले भयावह रूप लिने संकेत छ ।”
स्थानीय तहमा क्वारेन्टिन नभएको र जिल्ला बाहिर बाट घरफर्केकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए । उनले भने, “अहिलेसम्म त हाम्रो गाउँपालिकामा त्यति जोखिम छैन । गत वर्ष क्वारेन्टिन व्यवस्थापन गर्न हम्मेहम्मे भयो । हामीले जिल्ला भित्रने सबैलाई दश दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनेका छौँ । हामीसँग कोभिड वार्ड पनि छ । लक्षण देखिएका र शंकास्पदलाई सोही ठाउँमा चिकित्सकको निगरानीमा राखेका छौँ । संक्रमणबाट बच्न सरकारले लागु गरेका नीतिनियमको पालना गर्न विभिन्न सञ्चारमाध्यमबाट सूचना सम्प्रेण गरिरहेका छौँ ।”-रासस




प्रतिक्रिया