गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच ठूलो पहिरो गएर बुढीगण्डकी नदी थुनिएपछि आएको लेदो सहितको बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ ।
बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उगिलुङका भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आईतबार जारी गरेको प्रेस नोटअनुसार बाढीले गोरखा जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बाढीपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, उद्धार गर्ने र अत्यावश्यक राहत सामग्री पुर्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराएको थियो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र बाढी पूर्वानुमान महाशाखाबाट सूचना प्राप्त भएपछि गोरखादेखि धादिङ हुँदै चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको प्राधिकरणले जनाएको छ ।
बाढी प्रतिकार्यका लागि प्राधिकरणले सम्बन्धित जिल्लाका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालित हुन एसएमएसमार्फत सूचना पठाएको थियो । बिहान करिब साढे ६ बजेदेखि प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर जारी रहेको छ । बैठकबाट बाढीको अवस्था अनुगमन, विश्लेषण, सूचना प्रवाह तथा सम्बन्धित निकायसँग समन्वय र सहजीकरण भइरहेको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा नेपाली सेनाका ३ विशेष फौजसहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बलका १७७ जना गरी ४३७ सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरीको थप ५० जनाको टोली विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ ।
नेपाली सेनाका ४ हेलिकोप्टर खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा परिचालित भएका छन् । प्राधिकरणका अनुसार सेनाको हेलिकोप्टरबाट हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा सडक तथा हेलिकोप्टरमार्फत अत्यावश्यक राहत सामग्रीसमेत पुर्याइएको छ ।
बाढीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहित ३ जनाको टोली परिचालन गरिएको छ । सडक सञ्चालनको अवस्था अध्ययन गर्न र बेलिब्रिज निर्माणको सम्भाव्यता बुझ्न सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ । गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा सम्बन्धित अस्पतालका आपतकालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ । गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ ।
धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका ७–८ घर बगाएको प्राधिकरणले जनाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पसेको छ भने २०–२२ घर जोखिममा छन् ।
आरुघाट गाउँपालिका–९ नयाँपुलमा गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको १ भाग बगाएको छ । आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ ।
त्यसैगरी ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य शिविर क्षेत्र र केही निर्माण उपकरण बगाएको छ । बाढीबाट २ वटा टेलिफोन टावर र ५० वटा विद्युत्का पोलमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बुढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।





प्रतिक्रिया