काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोलेका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा थप सरकारी सेवा सुविधासहित नागरिक एपको औपचारिक शुभारम्भ समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताएका हुन् ।
डिजिटल नेपाल निर्माणको परिकल्पनाअनुसार पछिल्लो समयमा विभिन्न सार्वजनिक तथा सरकारी सेवाहरु अनलाइनमा उपलब्ध छन् । छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएपछि एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको सरकारले जनाएको छ ।
यसमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणित विवरणहरु छन् । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ ।




प्रतिक्रिया