काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महामन्त्री पदको मतगणनामा उदय शमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन्। पछिल्लो मतपरिणामअनुसार राणाले ७८६ मत प्राप्त गर्दा पुनले ६९५ मत पाएका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार साँझदेखि जारी मतगणनामा राणाले पहिलो पटक पुनलाई उछिनेका हुन्।
खुलातर्फका दुई महामन्त्री पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल भने फराकिलो मतान्तरसहित अग्रस्थानमा छन्। उनले १ हजार ३८१ मत प्राप्त गरेका छन्। राणाभन्दा पौडेल ५९५ मतले अगाडि छन्।
पछिल्लो विवरणअनुसार महामन्त्रीका उम्मेदवार डा. सुनिलकुमार शर्मा ५२६ मतसहित चौथो स्थानमा छन्।
गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
उपसभापतिमा चन्द्र अगाडि
खुला उपसभापति पदको मतगणनामा डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। दोस्रो स्थानमा रहेका ई. मधु आचार्यले ७१२ मत पाएका छन्।
अन्य उम्मेदवारमध्ये सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
खुलातर्फ दुई उपसभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
समावेशी उपसभापतिमा चौधरी अगाडि
समावेशी उपसभापति पदमा विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ५७८ मतसहित उनलाई पछ्याइरहेका छन्।
त्यस्तै, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्। समावेशी उपसभापतिमा एक पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
महिला महामन्त्रीमा डिला र डिनाबीच टक्कर
महिला महामन्त्री पदको मतगणनामा डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गरेकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत पाएकी छन्।
संग्रौला उपाध्यायभन्दा १३ मतले अगाडि छन्। अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्।
महिला महामन्त्रीको एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
खसेको थियो ७ हजार ४३ मत
कांग्रेस महाधिवेशनको निर्वाचनमा कुल ७ हजार ४३ मत खसेको विवरण छ। पछिल्लो विवरण सार्वजनिक हुँदासम्म २ हजार २३१ मत गणना गरिएको जनाइएको छ।
मतगणना जारी रहेकाले उम्मेदवारहरूको मतपरिणाम फेरिन सक्नेछ। अन्तिम परिणाम निर्वाचन समितिको आधिकारिक घोषणापछि मात्र निश्चित हुनेछ।



प्रतिक्रिया