काठमाण्डु – सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने भएको छ ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको उपचारमा स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिने बताएका हुन् ।
त्यस्तै उनले कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिने बताए ।
साथै जनस्वास्थ्यका मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिने र मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने प्रधानमन्त्रीको भनाई छ ।




प्रतिक्रिया