भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा

भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ।

भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र एन्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो। शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो। त्यस्तै शुक्रबार भारतबाट आएका १७ सय ४७ मध्ये ४ सय ७ जनाको एन्टिजेन जाँच गरिएको थियो।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा गौरीफन्टा, गड्डाचौकीलगायतका नाकाबाट ९ हजार ७ सय ५२ जना सुदूरपश्चिम फर्केका छन्। तीमध्ये बढीजसो परीक्षण नगरी गाउँगाउँ पुगेका छन्।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी गणेश साउदले किट र जनशक्ति अभावले सबैको परीक्षण गर्न सम्भव नभएको बताए। एउटा समूहमा रहेका मध्ये एकजनाको परीक्षण हुने गरेको उनले जानकारी दिए। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले किटको अभावले भारतबाट फर्केका सबैको एन्टिजेन परीक्षण हुन नसकेको पुष्टि गरे। ‘लक्षण भएका र हट स्पटबाट आएकाको परीक्षण गर्ने गरिएको छ’, उनले भने, ‘किटको अभावले सबैको परीक्षण हुन सकेको छैन।’-यो समाचार आजको नागरिक दैनिकमा छ ।