काठमाण्डु – नेपालमा कोरोना भाइरस संक्रमणको दर दैनिक रुपमा बढ्दो क्रममा छ । पछिल्ला दिनहरुमा सात हजारभन्दा बढी कोरोना संक्रमित थपिन थालेका छन् । अवस्था भयावह हुन थालेको भन्दै नागरिकमा त्रास पैदा हुन थालेको छ भने संक्रमण नियन्त्रण र संक्रमितको उपचार प्रभावकारी ढंगले हुन नसकेको भन्दै सरकारको आलोचनासमेत भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भयावह बन्दै गइरहेको र संक्रमितको उपचारमा आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुने चेतावनी दिएको थियो । मन्त्रालयको उक्त भनाईपछि संक्रमितको उपचारबाट हात उठाएको भनेर सरकारको चौतफी आलोचनापछि आफ्नो अभिब्यक्तिको बचाउ गर्दै काम गरिरेको प्रस्ट पार्न खोज्दैछ । अस्पतालहरुमा बेडको अभाव भइरहेको छ भने अक्सिजन तथा रेम्डिसेभीर औषधिको चरम अभाव छ ।
बिरामीहरु अक्सिजन र बेड नपाएर छट्पटाइरहेका छन् । यसमा सरकार, सरकारी संयन्त्र, राजनीतिक दलदेखि आम नागरिकसमेतको लापरबाही रहेको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । कोरोनालाई ख्यालठट्टा ठान्दा नै यो स्थिति निम्तिएको चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा व्यापक रूपमा फैलिनुमा सबैभन्दा बढी कमजोरी सरकारकै रहेको कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न बनाइएको अस्थायी संयन्त्र सीसीएमसीले स्वीकार गरिसकेको छ ।
सरकारले आइसोलेसन बेड र क्वारेन्टाइन निर्माण, ट्र्याकिङ र ट्रेसिङ, स्वास्थ्य सामग्री आयातमा तदारुकता नदेखाउँदा समस्या निम्तिएको भन्दै यो परिस्थिति सिर्जना हुनुमा सरकार नै दोषि भएको चिकित्सकहरुले आरोप लगाउदै आएका छन् । यता आयुर्वेदका चिकित्सकहरु भने आयुर्वेदिक औषधिले ९० प्रतिशत संक्रमित निको हुने दाबी गर्दैछन् । परम्परादेखि चलिआएको आयुर्वेदिक पद्धतिलाई सरकारले बेवास्ता गरेको नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले बताए ।
सरकारले आयुर्वेद चिकित्सा पद्धतीलाई उपेक्षा गरेको उनको आरोप छ । अहिले सबै क्षेत्र एउटै बिषयमा अल्झिएको डा. ज्ञवालीको भनाई छ । काठमाण्डुपाटीसँगको कुराकानीमा उनले भने, ‘अहिले सबै निकाय अक्सिजन छैन भन्दै लागिरेका छन् । सबै एउटै बिषयमा अड्कीदा अर्को समस्या निम्तने खतरा बढेको छ । जसको काम जे हो त्यही गर्नुपर्छ । यदी त्यसो नभए आज अक्सिजनको समस्या देखिएको छ । भोली भेन्टीलेटरको देखिएला । पर्सी बेडकै देखिन्छ त्यसैले सबैले आ आफ्नो काम गर्नुपर्यो । रेम्डिसेभिरको काम गर्नेले रेम्डिसिभीर ल्याउनु पर्यो, अक्सिजनसँग काम गर्नेले अक्सिजन जसले जे गर्नुपर्ने हो त्यही गर्नुपर्यो ।’
यस्तै उनले अहिले देखिएको कोरोना नियन्त्रणमा आफुहरु सक्षम हुँदाहुँदै पनि सरकारले काम गर्न नदिएको बताए । उनले भने, ‘अहिले देखीएको कोरोना नियन्त्रणमा हामी ९० प्रतिशत सफल हुन्छौँ । तर, हामीलाई काम गर्न दिनुपर्यो अहिले कोरोनाभन्दा पनि अक्सिजन अभावले नै मानिसहरुको मृत्यु भएको देखियो । तर, हामीलाई सहयोग भयो भने हामी अक्सिजनको मात्रा बढाउने प्राकृतिक विधिबारे जनचेतना जगाउथ्यौं । घरघर पुगेर यसबारे जानकारी दिन्थ्यौं । उनीहरुको खानपान तथा जिवनशैलीमा परिवर्तन आयो भने ९० प्रतिशत मानिस घरमै रोकिने थिए । जसले गर्दा अस्पतालमा भिड हुनेथिएन । ’
सरकारले आयुर्वेदमा पनि थोरै बजेट छुयाए काम गर्न सकिने उनको भनाइ छ । उनि भन्छन्, ‘हामीले हामीलाई पैसा देउ भनेको होइन । गाउँमा पैसा पठाउ र आयुर्वेदमा थोरै लगानी गर मात्र भनेको हो । हामी गाउँगाउँ गएर जनतालाई अक्सिजन थेरापी, योग तथा खानपिनबारे जागरुक गर्न सक्यौं भने धेरै नागरिकको जीवन रक्षा हुने सोचेका छौँ । यदी जटिल प्रकृतिका केस आयो भने हामी तुरुन्त अस्पताल पुर्याउँछौ भनेकै छौं । तर, सरकार हुन्छ मात्र भन्छ केही पनि गर्दैन । ’
भिआईपीलाई मात्र सेवा
उनले उच्च वर्गका ब्यक्तिले आयुर्वेद पद्धतिको सेवा लिए पनि सर्वसाधारण बञ्चित भएको बताए । उनले भने, ‘मन्त्री सचिवलाई केही भयो भने उनिहरु आयुर्वेद डाक्टरसंग परामर्श लिन्छन् । तर, यो सेवा जनतालाई दिन किन सोच्दैनन् ?’
साथै उनले स्वास्थ्यका योजना र नीति बनाउँदा आयुर्वेद चिकित्सकलाई नसेमेटेकै कारण आयुर्वेद पद्धति पछि परेको गुनासो गरे ।




प्रतिक्रिया