काठमाडौं – गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई अब विबाहमा ४० ग्राम भन्दा बढी सुन दाइजो दिन नपाइने कानुन बन्ने भएको छ ।
दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ। ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन्।
विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ। विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ।तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ। बढी जन्ती लिनेलाई पचास हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले यो व्यवस्थाको उल्लंघन गरे थप २५ प्रतिशत सजाय हुनेछ।
मन्त्रालयले बनाएको मस्यौदा आवश्यक परिमार्जन गर्न कानून मन्त्रालय पठाइएको छ।सामाजिक व्यवहारमा भड्किलो प्रदशन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ। ‘समाजमा यस्ता कुराले धेरै असर र्पुयाए,’ गृहका एक अधिकारीले भने, ‘विषेश गरी तराईका जिल्लामा दाइजोकै कारण हुने अपराध रोकथाम गर्न यो ऐन प्रभावकारी हुनेछ।’ कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृहको तयारी छ।




प्रतिक्रिया