काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठसँग करिब डेढ घण्टा छलफल गरेर ठाकुर र महतो भर्खरै बालुवाटार पुगेका हुन्।
भेटमा जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको भन्दै उनका कुराका पछि नलाग्न सुझाव दिएको स्रोतले जनाएको छ ।
जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन् । उनले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका । अध्यक्ष ठाकुरले भेटमा सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा वैशाख २७ मा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेसंगै वैकल्पिक सरकार बनाउन कोशिस सुरु भएको छ ।
त्यसमा माओवादी केन्द्रका अध्यक्ष, एमाले नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय छन् । कांग्रेस सभापति देउवा भने अहिले संसदको जोड घटाउमा लागेका छन् । उनि बहुमत पुग्ने निश्चित नभई अगाडी नबढ्ने लाईनमा छन् ।




प्रतिक्रिया