काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ ।
आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
भेटवार्ताका क्रममा प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उनले सरकारले आफूहरुका माग अझै पूरा नगरेकाले विश्वासको मत दिन नसक्ने र विपक्षमा पनि मत नदिने बताएको स्रोतले जानकारी दियो ।
ठाकुरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामी विश्वासको मत दिन सक्दैनौं । हाम्रा माग सम्बोधन भएका छैनन्, विपक्षमा पनि मत दिनौं, हामी तटस्थ बस्छौं ।’
यस्तै आजै ठाकुर र महतोले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । भेटमा जसपा अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवालाई जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गरेको निर्णय उनको व्यक्तिगत भएको भन्दै उनका कुराका पछि नलाग्न सुझाव दिएको स्रोतले जनाएको छ ।
जसपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय नगरेको पनि उनले स्पष्ट पारेका छन् । उनले तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेकाले निर्वाचनमा जानु उपर्युक्त हुने देउवालाई सुझाव दिएका । अध्यक्ष ठाकुरले भेटमा सबै दलहरु मिलेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा वैशाख २७ मा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेसंगै वैकल्पिक सरकार बनाउन कोशिस सुरु भएको छ ।
त्यसमा माओवादी केन्द्रका अध्यक्ष, एमाले नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय छन् । कांग्रेस सभापति देउवा भने अहिले संसदको जोड घटाउमा लागेका छन् । उनि बहुमत पुग्ने निश्चित नभई अगाडी नबढ्ने लाईनमा छन् ।




प्रतिक्रिया