काठमाण्डु – नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । माधव नेपाल समूहका सांसदरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेपछि एमालेले यस्तो चेतावनी दिएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी आइतबार नै प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप लगाइसकेकाले निर्णय नमाने कारबाहीको भागीदार बन्नुपर्ने बताए ।
‘पार्टीले हिजै ह्वीप लगाइसकेको छ । निर्णय अटेर गर्ने सांसदलाई कारबाही गर्छौं’, उनले भने ।
प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्ने/ नगर्ने विषयमा पनि माधव नेपाल समूह दुई भागमा बाँडिएको छ । सोमबार सिंहरबारमा बसेको बैठकमा भीम रावल पक्षहरुले संसद बैठकमा उपस्थित नहुने निर्णय गरेका छन् ।
नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलगायत राजीनामाको विपक्षमा छन् भने वरिष्ठ नेता माधव नेपाल, भिम रावल, रघुजी पन्त र वेदुराम भुषालहरु राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् ।
घनश्याम भुसाल पक्षले भने पार्टीले ह्वीप लगाइसकेकाले बैठकमा उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुपर्ने अडान लिएका छन् ।




प्रतिक्रिया