काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अोलीका गलत क्रियाकलापको विरोधमा मत नदिएको स्पष्ट पारेका छन् ।
सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै नेता नेपालले जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन् ।
‘ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो’, उनले भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले प्रधानमन्त्री ओलीलाई फेरी पनि देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न आग्रह गरेका छन् । उनले देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि आफूहरुले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गरेका छन् ।
‘२०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यहरूको भेला गर्नुभयो । त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुभयो’, उनले भनेका छन्, ‘त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरुको मनोनयन गर्नुभयो । हामी लगायतका केन्द्रीय कमिटीका सदस्यहरुलाई जिम्मेवारीबाट हटाउनु भयो । यसरी केपी ओलीले पार्टी विभाजनको अपराधपूर्ण बाटो समात्नुभयो ।’








प्रतिक्रिया