काठमाण्डु – जनता समाजवादी पार्टीले नेपाली कांग्रेसका सभापति शरबहादुर देउवा नेतृत्वमा सहभागी नहुने स्पष्ट पारेको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति जारी गर्दै आफूहरु देउवा नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएका थिए । त्यसमा जसपाको ठाकुर समूह तटस्थ रहेको थियो । भने उपेन्द्र यादव समूहले विपक्षमा मतदान गरेको थियो । उनले नयाँ सरकार गठनमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावनाविरुद्ध भएका बताएका छन् ।
‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रिय रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मुल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,’ अध्यक्ष ठाकुरले भनेका छन्, ‘मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकुल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चित प्राय छ ।’
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि दलहरुको बैठक डाकेका छन् । उक्त बैठकमा जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, नेता उपेन्द्र यादवलगायत सहभागी हुने बताइएको छ ।
उपेन्द्रमाथि कारबाहीको तयारी
पार्टीको निर्देशन विपरितका कार्य गरेको भन्दै जनता समाजवादी पार्टी ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादवमाथि कारबाहीको तयारी गरेको छ । अध्यक्ष ठाकुरले सरकारमा जाने आफूहरुको निर्णय नभएको भन्दै यादवमाथि कारबाहकिो तयारी गरेका हुन् ।
जसपाका नेता राजेन्द्र महतोले उपेन्द्र यादवले पार्टी विभाजन गर्न खोजेको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् । गठबन्धको सरकार निर्माणमा हस्ताक्षर गरेको भन्दै उनले यादवमाथि अनुशासनको कारबाही गर्ने बताए । नेता महतोले पार्टी फुटाउनेलाई पार्टीबाट निष्काशन गर्ने बताए ।
‘उपेन्द्र यादवले पार्टी फुटाउने अपराध गर्दै हुनुहुन्छ । उहाँलाई अब कारबाही हुन्छ । पार्टी उहाँलाई अनुशासनको कारबाही गर्छ । गठनबन्धको सरकार निर्माणमा लागि विज्ञप्तिमा हस्ताक्षर कि गर्नुभयो ? यो पार्टी निर्णय विपरीत छ । पार्टीको कुनै आधिकारिक निर्णय भएको छैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीको सरकारले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठन हुने प्रक्रिया शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन् ।





प्रतिक्रिया