पार्टीको ह्वीप नमान्ने सांसदलाई जनमोर्चाले सोध्यो स्पष्टिकरण

पार्टीको ह्वीप नमान्ने सांसदलाई जनमोर्चाले सोध्यो स्पष्टिकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टिको ह्वीप पालना नगरेको सन्दर्भमा स्पष्टिकरण सोधेको हो ।

नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेकाले स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेशप्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको र उक्त समय सीमा आज दिउँसो ४ बजे सकिँदैछ ।

आज दिउँसो ४ बजेसम्म दलहरूले बहुमतसहित दाबी गर्न नसकेको अवस्थामा अल्पमतको सरकार बन्नेछ । उक्त अवस्थामा प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङ मुख्यमन्त्री बन्नेछन् ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नयाँ सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्दा कांग्रेससहितका दललाई समस्या परेको छ । एकतीस सदस्य पुग्नका लागि राष्ट्रिय जनमोर्चाका तीन प्रदेशसभा सदस्यको हस्ताक्षर अनिवार्य चाहिन्छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा नेकपा एमालेका २७ छन् भने एकजना स्वतन्त्र सांसद राजीव गुरुङ एमालेकै पक्षमा छन् । त्यस्तै नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई प्रदेशसभा सदस्य छन् ।