काठमाण्डु – गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका दुई जना सांसद विपक्षमा देखिएका छन् । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशसभा संसदीय दलका नेता कृष्ण थापा र र अर्का सांसद खिमविक्रम शाही नयाँ सरकारको विपक्षमा देखिएका हुन् ।
दुवै सांसदले एक सूचना जारी गर्दै आफूहरु नेपाली कांग्रेसको नेतृत्वको सरकारको पक्षमा नरहेको स्पष्ट पारेका छन् । सांसद थापाले नयाँ सरकार गठनमा आफू तटस्थ रहेको स्पष्ट पारेका छन् ।
‘गण्डकी प्रदेशको सरकार गठनको सन्दर्भमा मलाई संसदीय दलको नेताबाट हटाउने र कारबाही समेत गर्ने भन्ने हल्ला चलाइएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘म पार्टी कामका सिलसिलामा बाग्लुङमा रहेको अवस्थामा गैर संवैधानिक गैर कानूनीरूपमा किर्ते जालसाजीसमेत गर कारबाही गर्ने एवै दलकव नेताबाट हटाउने निर्णयलाई वैधानिकता नदिनु हुन अनुरोध गर्दछु । म हालको सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको व्यहोरा अनुरोध गर्दछु ।’
शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा मेरो हस्ताक्षर छ भनी बाहिर विभिन्न सञ्चारमाध्याममा प्रकाशित÷प्रसारित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो गठबन्धनमा मेरो सहभागीता र संलग्नता नरहेको सम्बन्धित सबैलाई स्पष्ट पार्न चाहन्छु । साथै म कुनैपनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी गराउँछु,’ सांसद शाहीले विज्ञप्तिमा भनेका छन् ।
विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका छन् ।
दुवै सांसद एक कित्तामा उभिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार सुरक्षित बनेको छ ।






प्रतिक्रिया