काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न आफूहरुले राजीनामा दिनुपर्ने तर्क अघि सारेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जालमार्फत नेता रावलले अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री अोलीलाई पदमुक्त गर्न आवश्यक भएको बताएका हुन् । उनले आफूहरुले पदबाट राजीनामा दिनु राजनैतिक दृष्टिले उचित हुने बताएका छन् ।
उनले भनेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय अहित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बहुमत गुमाएका विश्वासको मत गुमाएका थिए । सोमबारको संसद बैठकमा एमालेका नेपाल समूहका २८ जना सांसद अनुपस्थित भएका थिए ।
नेपाल समूहले सांसद पदबाट राजीनामा दिएर भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने अडान लिएको छ । मंगलबार साँझ नेता नेपाल र रावल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।




प्रतिक्रिया