काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले अस्वस्थ राजनीतिक खेल बन्द गरेर नागरिकको जीवन रक्षामा ध्यान दिन आग्रह गरेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले कोरोना महामारीले नागरिकहरु अस्तव्यस्त भइरहेको अवस्थामा राजनीतिक खेल बन्द गर्न नेतृत्वलाई आग्रह गरेका हुन् ।
‘यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टी बढदै गएर ब्यवस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ’, उनले भनेका छन् ।
नेता भट्टराईले कोरोना भाइरसको संक्रमणबाट देश अझै संकटतर्फ गइरहेको भन्दै बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले लज्जित बनाएको बताएका छन् ।
‘हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्युनतम अक्सिजन र बेड दिन नसक्नुले हामीसबै लज्जित छौं’, उनले भनेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले अहिले तुलनात्मक रुपमा चीनमा कोभिडको असर कम भएको र नेपाललाई सहयोग गर्न सरकारले चीनलाई अनुरोध गर्नुपर्ने बताएका छन् ।
साथै उनले भारत लगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्ने बताएका हुन् ।
नेता भट्टराईले ०७२ को महाभुकम्प पछि जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गरेको स्मरण गर्दै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिकासाथ ठोस योजनामा सबैले काम गर्नु पर्ने बताएका छन् ।
‘राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ । सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने’, उनले भनेका छन्, ‘आर्थिक अभाव हुन नदिने । अन्य शिर्सकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिड बिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुबिधा हाललाई स्थगित राख्ने ।’




प्रतिक्रिया