काठमाण्डु – कर्णाली प्रदेशमा नवनियुक्त तीन जना मन्त्रीको शपथ ग्रहण रोकिएको छ । बुधबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका थिए ।
कर्णाली प्रदेश माओवादी केन्द्रकी सचेतक सीता नेपालीले नवनियुक्त मन्त्रीको शपथ रोकिएको स्पष्ट पारेकी छन् । उनले कांग्रेसलाई सरकारमा ल्याउनका लागि छलफल जारी रहेकाले शपथ ग्रहण रोकिएको बताइन् ।
‘आजका लागि तय भएको थियो । तर, अहिलेसम्म हुने टुंगो छैन् । कांग्रेसलाई सकारमा ल्याउने विषयमा छलफल चलिरहेको भन्ने सुनेको छु’, काठमाण्डुपाटीसँग कुरा गर्दै नवनियुक्त मन्त्री नेपालीले भनिन् ।
स्रोतकाअनुसार कांग्रेसले अर्थ र सामाजिक विकास मन्त्रालयमा दबाबी गरेपछि शपथग्रहण रोकिएको हो । मन्त्री शाहीले कांग्रेससँग अहिले छलफल गरिरहेको स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री शाहीले मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका थिए । शाहीले भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत मन्त्रालय बनाएका छन् । यससंगै कर्णाली प्रदेशमा मन्त्रालयको संख्या आठ वटा पुगेको छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्यहरु शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा दुवैको दबावमा मुख्यमन्त्री शाही छन् । उनले बुधवार गरेको मन्त्रिमण्डल विस्तारमा समेत बस्नेत र शर्मा निकट एक एक सांसदलाई मन्त्री बनाएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा नेता जर्नादन शर्माका भाई गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेता वस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव समेत रहेका सांसद विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्रीमा सिता नेपालीलाई नियुक्त गरेका थिए । नेपाली यसअघि समानुपातिकबाट संघिय सांसदमा सदस्य समेत बनेकी थिईन । नेपाली पनि शर्मा निकट नै हुन् ।
जम्मा ४० सिट रहेको कर्णाली प्रदेशमा आठ वटा मन्त्री बनाइएको छ । संविधान अनुसार बढीमा २० प्रतिशत मन्त्री बनाउन पाउने प्रावधानमा टेक्दै मुख्यमन्त्री शाहीले बुधबार मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरेका हुन ।




प्रतिक्रिया