काठमाण्डु – जनता समाजवादी पार्टीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई साथ नदिने निर्णय गरेको छ ।
बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्ष महन्थ ठाकुरले जसपाले साथ दिन नसक्ने बताएको स्रोतले जानकारी दियो । देउवाले मिलेर नयाँ सरकार निर्माण गर्न अध्यक्ष ठाकुरसँग आग्रह गरेका थिए ।
देउवा भेट्न बुढानिलकण्ठ पुगेका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले अर्का अध्यक्ष उपेन्द्र यादव-बाबुराम भट्टराईको निर्णयमा भर नपर्न आग्रह गरेका हुन् । उनीहरुले उपेन्द्र-बाबुरामको निर्णय आधिकारिक नभएको भन्दै प्रथम अध्यक्षका हैसियतले आफ्नो हस्ताक्षर चल्ने बताए ।
‘जसपाको प्रथम अध्यक्षको हैसियतले मसँग बहुमत छ । उपेन्द्रजीको भर नपर्नूस् । पार्टीमा उहाँको हस्ताक्षर आधिकारिक मानिदैँन’, ठाकुरको भनाई उद्धृत गर्दै एक कांग्रेस नेताले भने ।
अध्यक्ष ठाकुरले आजै १९ जना सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाएका छन् । संसदमा जसपाका ३२ जना सांसद रहेका छन् । उपेन्द्र–बाबुराम समूहले नयाा सरकारमा जानुपर्ने बताउँदै आएका छन् ।
यसअघि संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागी जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसंग मिलेर राष्ट्रपति कार्यालयलाई पत्र पठाएका थिए । ठाकुरले भने यादवको दावीलाई अवैधानिक भएको बताउँदै आएका छन् ।
बुधबार अध्यक्ष ठाकुर र नेता महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर उपेन्द्र यादवको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका थिए । पार्टीमा आफू प्रथम अध्यक्ष भएकाले उपेन्द्रको हस्ताक्षर नचल्ने र नयाँ सरकारका विषयमा जसपाको साथ नरहेको स्पष्ट पारेका थिए ।
र यो पनि
१९ सांसदको हस्ताक्षरसहित जसपा अध्यक्ष ठाकुरले पठाए राष्ट्रपति कार्यालयमा पत्र (सुचीसहित)




प्रतिक्रिया