काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनभित्र अक्सिजन प्लान्ट जडानका लागि निजी अस्पतालहरुलाई पुनः निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अक्सिजन अभाव र आपूर्ति प्रक्रिया थप जटिल भएको भन्दै आजको मितिदेखि १५ दिनभित्र अक्सिजन प्लान जडान गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रलायले हिजो (बुधबार)पनि कम्तिमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको थियो ।
यता, निजी अस्पतालहरुको छाता संस्था अफिनले मन्त्रालयको १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न दिएको निर्देशन हावादारी भएको भन्दै कम्तिमा तीन महिना समय लाग्ने जनाएको छ ।
अफिनका अध्यक्ष बसन्त चौधरीले विज्ञप्तिमा भनेका छन्, ‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ ।’
विज्ञप्तिमा एक सय शैयाको अस्पतालका लागि सरकारको मापदण्ड बमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड रुपैयाँ पर्ने भन्दै सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक पर्ने र वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम नरहेको स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको जानकारी पनि गराउन चाहन्छौँ ।’





प्रतिक्रिया