अक्सिजन अभावमा वीरमा १२ र ट्रमामा ६ को मृत्यु

अक्सिजन अभावमा वीरमा १२ र ट्रमामा ६ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले बिहीबार बिहानै फेसबुकमा अक्सिजन अभावको स्टाटस लेखे– ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भयो । ट्रमा सेन्टरमा १ सय ५ जना बिरामी छन् । कृपया सहयोग चाहियो ।’

अस्पतालमा बिहीबार ६ जनाले ज्यान गुमाए । ट्रमामा लिक्विड अक्सिजनको सिलिन्डर छ तर बुधबारै अक्सिजन सकिएपछि सिलिन्डरको भर पर्नुपरेको थियो । ‘रातभरि अक्सिजन खोज्यौं, पर्याप्त पाउन सकेनौं,’ पौडेलले भने, ‘सबै निकायका पदाधिकारीलाई जानकारी गराए पनि केही उपाय नभएपछि सर्वसाधारणलाई अक्सिजन दिएर सहयोग गर्न अपिल गर्नुपरेको हो ।’ अपिलअनुसार केही सिलिन्डर सहयोगसमेत पाएको र भर्ना भएका बिरामीलाई बिहीबार दिनभरि पनि अक्सिजन जोहो गर्नुपरेको उनले बताए ।

अक्सिजन पर्याप्त नहुँदा हाइफ्लोमा दिन सम्भव नभएको उनले जानकारी दिए । धेरैजसो संक्रमितको मृत्यु हाइफ्लो अक्सिजन दिन नसक्दा भएको उनले बताए । यो अस्पतालमा दिनभरि मृत्यु भएकाको सम्झनामा ट्वीट गर्दै उनले लेखेका छन्, ‘पीडा छ हजुर, जीवनमा डाक्टर भएँ । मानव जीवनलाई माया गरें । आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु । मजस्तै जीवनहरू तिमीहरूलाई बचाउन सकिनँ, माफ गर । हार्दिक श्रद्धाञ्जली प्रिय जीवनहरू ।’ हाइफ्लोको अक्सिजन दिन नसक्दा गम्भीर भएका बिरामीलाई बचाउन गाह्रो भइरहेको उनले बताए । ‘अहिले त कसरी हुन्छ, अक्सिजन जोहो मात्रै गर्नुपरेको छ,’ उनले भने । ट्रमासँगैको वीर अस्पतालमा पनि बिहीबार १२ जनाको मृत्यु भएको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वीर अस्पतालको नयाँ भवन, ट्रमा र वीर अस्पतालको पुरानो भवनलाई समेटेर ५ सय शय्याको केन्द्रीय कोरोना अस्पताल बनाउने निर्णय गरेको थियो तर सरकारका मन्त्रीहरूले जसरी प्रचारप्रसार गरेका थिए, त्यो गतिमा काम हुन सकेको छैन । निर्णय भएको ५ दिन हुँदा पनि नयाँ भवनमा कोरोना संक्रमितलाई भर्ना गर्न सकिएको छैन । ‘पहिलो र दोस्रो तलामा ३ सय बेड राखिसकेका छौं,’ अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले भनिन्, ‘भित्रको काम सकिए पनि अक्सिजन नभएर सञ्चालन गर्न सकिएको छैन ।’

पुरानो भवनमा भर्ना गरिएका बिरामीलाई अक्सिजन नभएका बेला नयाँ भवनमा भर्ना गर्न नसकिएको उनले बताइन् । वीर अस्पतालमा १ सय ८१ बिरामीको उपचार भइरहेको उनले जानकारी दिइन् । अस्पतालको प्लान्टबाट दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ तर अहिले तीन सय सिलिन्डर खपत भइरहेको उनले बताइन् । -यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।