प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरे, आयोगको आपत्ति

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरे, आयोगको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आफु पक्षीय उम्मेदवार रामबहादुर थापलाई जिताउन आग्रह गरेका हुन् ।

जेठ ३ गते रातिदेखि मौन अवधि सुरु भएको अवस्थामा प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्ंघन गरेका हुन् । निर्वाचन आचारसंहिता २०७२ मा पनि मौन अवधिमा पालन गर्नुपर्ने आचरण बुँदामा ‘निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने’ भनिएको छ । तर प्रधानमन्त्रीले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने चेतावनीसमेत दिएका छन् ।

‘जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।’

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने उल्लेख गरेका छन् ।

निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरण यस्ता छन्ः

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने,

३. एस.एम.एस, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने,

४. उमेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,

५. उमेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

आयोगको गम्भीर ध्यानाकर्षण

मौन अवधिमा पनि मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रशारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।’

जेठ ६ गते बिहीबार वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनको तयारी पूरा भएको पनि आयोगले जानकारी दिएको छ । जसका लागि मंगलबार राति १२ बजेदेखि मौन अधवि सुरु भएको छ । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए ।

निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ ।

राष्ट्रिय सभा सदस्यको वाग्मती प्रदेश उपनिर्वाचनमा वाग्मती प्रदेश सभा सदस्य ११० जना र वाग्मती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डल रहेको छ । राष्ट्रिय सभामा रिक्त रहेको पदका लागि एमालेका रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् ।

विपक्षीले अगाडि सारे पनि देवकोटाले चाहिँ आफूलाई स्वतन्त्र उम्मेद्वार भनेका छन् । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव समूह र एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको समेत उनलाई समर्थन रहेको बताइएको छ । यता नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।