काठमाण्डु – काठमाण्डु विश्वविद्यालयले झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि आवश्यक पर्ने सहमतिपत्र कानूनसम्मत रहेको दाबी गरेको छ ।
विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले एक विज्ञप्ति जारी गर्दै हाल विद्यमान रहेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अधीनमा रही आफूहरुले सहमतिपत्र प्रदान गरेको दाबी गरेकी हुन् ।
विश्वविद्यालयको विज्ञ सम्मिलित टोली मार्फत २०७८ वैशाख २३ देखी २४ सम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेर सम्बन्धनका लागि आयोगलाई चाहिने सहमतिपत्र दिनेगरी विश्वविद्यालय कार्यकारी परिषद्ले मिति २०७८ वैशाख ३१ मा निर्णय गरेको प्रवक्ता पुनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यता चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाण्डु विश्वविद्यालयले गरेको भनिएको निरीक्षण प्रतिवेदन फर्जी रहेको भन्दै त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्यानाकर्षण समेत जनाएका छन् ।




प्रतिक्रिया