काठमाण्डु – नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि कांग्रेस र माओवादी केन्द्रले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रका नेता देव गुरुङले धारा ७६(३)को सरकारले धारा उपदफा ४ प्रयोग गर्नुपर्नेमा एकैचोटी उपधारा ५ मा पुगेको भन्दै आपत्ति जनाएका छन् । उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली संसद विघटन गर्न लागि परेको बताए
त्यस्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीना नदिएको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानकि हुने बताएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् ।
‘सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन्’, उनले भनेका छन्, ‘यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’




प्रतिक्रिया