लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।
आज २५६५औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उनले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक रहेको बताए ।
बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा, अरौराकोटलगायत स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने बताएका छन् ।
‘पर्यटन प्रवद्र्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ’, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराएका छन् ।
‘आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदूत हुनुहुन्छ । मानवकल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षका उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृहत्याग गर्नुभयो’, शुभकामना सन्देशमा भनिएको छ ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा पूजा गरेका छन् । कोरोना भाइरसको महामारीका कारण यसवर्ष लुम्बिनीमा सानो संख्यामा भिक्षुहरुको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया