उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ,उल्लङ्घन गर्नेलाई एक सयदेखि पाँच हजारसम्म जरिवाना

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ,उल्लङ्घन गर्नेलाई एक सयदेखि पाँच हजारसम्म जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना संक्रमण फैलिने क्रम नरोकिएपछि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा आज (शुक्रबार)देखि थप प्रभावकारी बनाइएकाे छ।  निषेधाज्ञाका प्रावधानमा पनि थप कडाइ गरिएको छ ।

जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

यसका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालय, महानगरीय प्रहरी र ट्राफिक प्रहरीबीच सहकार्य हुने छ । आफूखुसी सडकमा हिँड्डुल गर्ने, निषेधाज्ञाको पालना नगरी व्यवसाय सञ्चालन गर्ने र अनुमतिबिना सवारीसाधन चलाउनेलाई एक सयदेखि पाँच हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशमा रहेकाे छ ।

निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गरिने जानकारी दिदै काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विपन्न, असहाय र गरिब परिवारका लागि स्थानीय वडा तहबाट राहतको व्यवस्था गरिएको समेत बताए । उनले भने, “अप्ठ्यारो परेमा स्थानीय वडा कार्यालयमा वा टेलिफोन नं. १०३ मा सम्पर्क गर्न आग्रह गरेका छौँ ।”

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई शुक्रबारदेखि जरिवाना लिन सुरु गरिने बताए । निषेधाज्ञा उल्लङ्घनको प्रकृतिअनुसार व्यक्तिलाई एक सयदेखि पाँच सय रुपियाँसम्म र सवारीसाधनलाई पाँच सयदेखि पाँच हजार रुपियाँ जरिवाना तिराइने उनले  बताए ।

काठमाण्डु, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले केही दिनअघि काठमाण्डु उपत्यकामा खाद्य तथा किराना पसल र डिपार्टमेन्ट स्टोर, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन एक साताका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हुन् ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा ब्यानर राखेर राति ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान बिहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई वटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ ।

विवाह, व्रतबन्ध होटल तथा पार्टीप्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ ।