काठमाण्डु – नेता उज्जवल थापाको स्मृतिमा वृक्षारोपण गर्न विवेकशील साझा पार्टीले आह्वान गरेको छ ।
पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेका छन् ।
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको छ ।
‘नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ’, विज्ञप्तिमा भनिएको छ ।
बैठकले थापाले अङ्गालेका सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




प्रतिक्रिया