काठमाण्डु – नेकपा एमालेलाई विभाजनबाट रोक्न दोस्रो पुस्ताका नेताहरु सक्रिय हुन थालेका छन् ।
पार्टीलाई विभाजनबाट रोक्न अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका नेताहरु अन्तिम कसरतमा लागेका हुन् । एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षका नेताहरुसँग छलफल गरेका छन् ।
उनले बुधबार सिंहदरबारमा नेपाल समूहका नेता योगेश भट्टराईसँग छलफल गरेका हुन् । उपप्रधानमन्त्रीसमेत रहेका महासचिव पोखरेलले नेपाल समूहलाई एमालेमा राख्नका लागि छलफल गरेका हुन् ।
नेपाल समूहलाई सहमतिमा ल्याउनका लागि आज बोलाइएको एमाले स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।
एमालेलाई एकताबद्ध बनाउन नेताहरु आन्तरिक छलफलमा जुटेकाले समय अभावका कारण आजको बैठक स्थगित गर्नु परेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले माधव नेपाल समूहका ११ जना नेताहरुलाई पार्टीबाट निष्काशन गर्ने निर्णय पुनःरावलोकन गर्ने तयारी गरेका छन् ।
यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपालसहित झलनाथ खनाल, भीम रावलसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो ।
उनले पार्टीलाई फूटबाट जोगाउन अन्तिम प्रयास थालिएको जानकारी दिए । साथै १२ जना नेतामाथि गर्ने भनिएको कारबाही पनि रोकिएको छ ।




प्रतिक्रिया