जसपा विवादः ठाकुर निकट मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी

जसपा विवादः ठाकुर निकट मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जसपाको महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादव भने जनकपुर पुगेका छन् । शुक्रबार ८ मन्त्री र दुई राज्यमन्त्रीसहित ठाकुर समूह सरकारमा सहभागी भएपछि यादव भने प्रदेश २ सरकार परिवर्तन गर्ने तयारी स्वरुप जनकपुर पुगेका हुन् ।

तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश–२ मा सरकार बनाएको थियो । पछि दुवै पार्टी एकीकरणपश्चात् जसपा बन्यो । पछिल्लो सयम पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

केन्द्रमा बनेको गठबन्धन अनुसार ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादीलाई सरकारमा ल्याउने तयारीमा यादव पक्ष छन् । जसपा विभाजन भएपछि धरापमा पर्ने प्रदेश २ सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । शुक्रवार मात्रै यादवले काँग्रेस उपसभापति विमलेन्द्र निधीसँग भेट गरेका थिए ।

निधीले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए । यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउने छलफल चलाएको छ । श्रोतका अनुसार माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बुझिएको छ । तर मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

नीति तथा कार्यक्रम र बजेटलाई पूर्व राजपाले पास हुन नदिने जोखिम रहेकाले सरकार सुरक्षित हुन कांग्रेस र माओवादी केन्द्रको सहयोगको सुनिश्चितता गर्न उपेन्द्र समूहले सक्रियता बढाएको हो ।

प्रदेश २ मा पूर्वसमाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८, नेपा संघीय समाजवादी पार्टीका १ प्रदेश सांसद छन् । पूर्वराजपाका २५ मध्ये सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय राजापा समूह छोडेर उपेन्द्र यादवतर्फ लागेका छन् । मन्त्री साह र यादव जसपाका केन्द्रीय कार्यकारिणी सदस्य हुन् । साह राजेन्द्र महतो र यादव महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए ।