काठमाण्डु – केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ । गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा दैनिक १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको देखिन्छ ।
यसअघि, २२ हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । देशभरका ९० बढी अस्पताल तथा प्रयोगशालाबाट परीक्षण गरिँदै आए पनि परीक्षण दर केही दिनयता न्यून देखिएको छ । नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित संख्यासमेत घटेको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार केही प्रयोगशाला तथा अस्पतालले परीक्षण ‘रिपोर्टिङ’ नदिँदा पनि संख्या कम देखिएको हो । ‘अस्पताल जानेको संख्या पनि कम हुँदै गएको छ,’ डा.पौडेलले भने, ‘रिपोर्टिङ कम भएर पनि संख्या घटेको हुन सक्छ ।’
स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, गौर अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतले हिजो शनिबार कोरोना परीक्षण रिपोर्टिङ नै गरेनन् । डा. पौडेलले अस्पतालमा आउनेको संख्यामा पनि कमी भएका जानकारी दिए । पीसीआर परीक्षण घटे पनि एन्टिजेन दायरा बढाइएको मन्त्रालयले जनाएको छ ।
गत आइतबारदेखि हिजो शनिबारसम्म पीसीआर विधिबाट १ लाख १ हजार २ सय ८ र एन्टिजेन विधिबाट २५ हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ३९ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
गत आइतबार १० हजार ९ सय ८६ जनाको पीसीआर र १ हजार ४ सय ८४ जनाको एन्टिजेन, सोमबार १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत मंगलबार १७ हजार १ सय ४७ जनाको पीसीआर र ३ हजार १८ जनाको एन्टिजेन, बुधबार १३ हजार ८ सय ५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ ।-यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया