काठमाण्डु- उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याएका छन् । नेपाल बहुल राज्य हुनुपर्ने भनेर दिएको विवादस्पद अभिव्यक्ति सच्याउंदै उनले आफ्नो भनाईलाई गलत प्रचार गरिएको दावी गरेका छन् ।
मन्त्री महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै आफू नेपालको राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेतासमेत रहेका महताले उपप्रधानमन्त्रीको सपथ खाएलगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भएको थियो ।
महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुं।’





प्रतिक्रिया