जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको ताकेता

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको ताकेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई एक अर्कालाई कारवाही गरेको कागजपत्र साँझसम्म बुझाउन ताकेता गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दुबै समूहलाई एकअर्काले गरेको कारबाहीबारे राजनीतिक दलसम्बन्धी नियमावली २०७३ अनुरुपका कागजात साँझसम्म बुझाउन निर्देशन दिएका हुन् ।

जसपाका दुवै पक्षले बुझाएको पत्रमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचा नपुगेको भन्दै अनुसूची १८ को फाराम भरेर बुझाउन समयसीमा दिएको आयोगले जनाएको छ ।

आयोगले यसअघि बुधबार नै दुवै पक्षले पठाएका पत्र कानुन बमोजिम नभएका भन्दै खारेज गरेर राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको फाराम भरेर बुझाउन निर्देशन दिएको थियो ।

यादव समूहले भने आयोगले पठाएको पत्र बमोजिमका कागजात बिहीबार नै बुझाएको छ । तर ठाकुर समूहले अहिलेसम्म नबुझाएपछि आयोगले ताकेता गरेको हो । उपेन्द्र यादवले मंगलबार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको पत्र आयोगमा पठाउँदै दर्ता किताबाट नाम हटाउन आग्रह गरेका थिए ।

त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निष्कासन गर्दै उस्तै व्यहोरा आयोगमा जानकारी दिएको थियो । आयोगको पत्रको जवाफ यादव समूहले बिहीबारै बुझाए पनि ठाकुर समूहले अहिलेसम्म नबुझाएको आयोगको भनाइ छ ।