राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आयोगको आग्रह

राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो ।

स्थानीय तीनजना युवाले राउटे समुदायका दुई युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।