काठमाण्डु – प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित राउटे वस्तीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे वस्तीमा बाहिरी व्यक्तिलाई प्रवेशमा रोक्नका लागि सुरक्षा व्यवस्था कडा बनाएको हो । त्यहाँका राउटे युवतीहरुमाथि यौन दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
सो भिडियो समुदायमा पुग्न नदिनका निम्ति कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले करिब तिन दर्जन प्रहरी खटाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए । राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका व्यक्तिले राउटे बस्तीसम्म पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिने उनीहरुको प्रचलन छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी रामप्रसाद घर्तीले बताए । प्रहरीले मदिरा सेवन गराई यौन दुर्व्यवहार गर्ने तीन जनालाई आइतबार नै पक्राउ गरिसकेको छ ।




प्रतिक्रिया